नेपाली काँग्रेस डोटीको सचिवमा खड्काको उम्मेदवारी
नेपाली काँग्रेस डोटीको सचिवमा युवा नेता गणेश खड्काले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष समेत रहेका खड्काले नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशनमा सचिव पदको उम्मेदवारी रहेको जानकारी दिएका हुन ।
नेपाली काँग्रेस डोटीको चौधौँ महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा भई रहेका छन् । मङ्सिर ६ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गरेर उम्मेदवारी घोषणा हुन लागेका हुन् ।
नेपाली काँग्रेसमा युवा नेतृत्व आए मात्रै बिपीको समाजवाद सच्चा रूपमा लागु गर्न सकिने भएका कारण काँग्रेसको नेतृत्व तहमा युवा पुग्न आवश्यक रहेको नेता खड्काले बताए । सचिवमा तपाईँको उम्मेदवारी किन भन्ने प्रश्नमा खड्काले भने ‘ म अहिले सङ्गठन र पार्टीको पक्षमा काम गर्न सक्ने इच्छाशक्ति र क्षमता छ, काँग्रेसलाई ऊर्जाशील बनाउन त युवा नै चाहिन्छ त्यसैले मेरो उम्मेदवारी हो ।’
केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र जिल्ला पदाधिकारीमा नेतृत्व हत्याउनका लागी नेताहरूको बिचमा रस्साकस्सी चली रहेको छ । सचिवमा खड्काले औपचारिक रूपमा नेतृत्वको दाबी गरेर सार्वजनिक घोषणा गरे पनि अरू नेताहरू भने आन्तरिक भेटघाट तथा आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरिरहेका छन् ।