मुख्यमन्त्री आएपछि राजपुर सडकमा पानी छ्यापियो
डोटी,४ पुष / मुख्यमन्त्री त्रिलोचन भट्ट गृह जिल्ला आएपछि कालोपत्रे उप्किएको धुलाम्य सडकमा पानी छ्यापिएको छ । मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत नमूना कृषि गाउँहरुको समीक्षा गोष्ठीमा सहभागी हुन मुख्यमन्त्री भट्ट सहितको टोली आईतबार दिपायल पुगेको हो ।
कालोपत्रे गरिएको एक हप्ता नबित्दै उप्किएको उक्त सडक तीन वर्ष बितिसक्दा पनि सुधार हुन सकेको छैन। उक्त सडक भएर ठूलठूला टिपर लगाएतका निर्माण कम्पनीका गाडिहरु सञ्चालन हुने गरेका छन् । सडकमा ठूलठूला खाल्डाहरु छन् । सधैं धुलाम्य हुने सडकका कारण सडक छेउका व्यापारी र स्थानीयले सास्ती भोग्दै आएका छन् ।
खाल्डै खाल्डो परेको धुलाम्य सडकमा आईतबार एकाएक पानी छर्किए पछि स्थानीयहरू अचम्मित भएका छन् । बिहानै पानी छ्यापिए लगत्तै मुख्यमन्त्री त्यही बाटो भएर आफ्नो गाउँ गएका थिए ।
ठेकेदारले कालोपत्रेमा कमसल सामाग्रीको प्रयोग गरेको विभिन्न सञ्चार माध्यममा समाचार आए, स्थानीयले गुनासो गरे तर सडक सुधार भएन। ठेकेदारले भुक्तानी लिए।
आफूहरुले वर्षौं देखि सडकको धूलो झेलिरहेको त्यसको सुधारका लागि कसैको ध्यान नगएको स्थानीयको गुनासो छ । ‘मुख्यमन्त्री एक दिनका लागि आउँदा पानी छर्केर सडक सफा गरियो, स्थानीय व्यापारीले भने,’ हाम्रो वर्षौंको समस्या समाधान तर्फ कसैको ध्यान गएन । ठेकेदारले आफ्नो गल्ति लुकाउन पनि यस्तो गरेको हुन सक्छ। ‘
धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालको टेण्डर अनुसार त्रिशक्ती कन्ट्रक्सनले उक्त सडक तीन वर्ष पहिले कालोपत्रे गरेको थियो । १२ सय मिटर सडक कालोपत्रे गर्न एक करोड २७ लाखमा ठेक्का स्वीकृत भएको थियो । सडक बर्खा लागेपछि पानीसँगै कालोपत्रे गरिएको थियो । कालोपत्रेमा कमसल सामाग्रीको प्रयोय गरिएको र अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् ।
दिपायल फाष्ट ट्रयाक योजना कार्यालयका प्रमुख इञ्जिनियर राजेन्द्र शाहले तत्कालीन समयमा बर्खा लागेपछि कालोपत्रे गरिएको बताउँदै मापदण्ड अनुसार कालोपत्रे नभएकाले ठेकेदारलाई रकम भुक्तानी नगर्ने जनाएका थिए । तर निर्माण कम्पनीले सडक सुधार नगर्दै भुक्तानी लिएको छ। तीन वर्षमा सडक पुरानै अवस्थामा परिणत भएको छ ।
सो सडक कालोपत्रेमा अनियमितता भएको भन्दै स्थानीयले छानबिन गरि दोषीलाई कारबाही गर्न र पुन कालोपत्रेको काम गर्न माग गरेका छन् ।