सीमा नाकामा कोरोना पुष्टि भएर घर फर्कनेहरुका विवरण जिल्लामा कसैले राखेका छैनन्

एक
एक
January 17, 11:10

डोटी,३ माघ / भारतबाट घर फर्कने क्रममा केआईसिंह गाउँपालिका–६ का वीरभान तिरुवा ९नाम परिवर्तन० को महाकाली अस्पताल कञ्चनपुरमा एन्टिजेन परीक्षण भयो । नतिजा पोजिटिभ आएपछि उनी सोझै घर पुगे । घरमा छुट्टै बसेको र स्वास्थ्यमा कुनै समस्या देखा नपरेको तिरुवाको दाबी छ । तर, उनी संक्रमित भएको तथ्यांक न गाउँपालिकाले राखेको छ न स्वास्थ्य कार्यालय डोटीले ।

पछिल्लो समय उनी कुनै पनि सरकारी संयन्त्रको निगरानीमा छैनन् । वीरभानझैं सीमा नाकामा कोरोना पुष्टि भएर घर फर्कने क्रम बढ्दै गए पनि संक्रमितको विवरण भने जिल्लामा कसैले राखेका छैनन् । खुलेआम गाउँघर डुल्ने, मापदण्ड अनुसारको सतर्कता नअपनाउने प्रवृत्ति बढ्दै गएको छ ।

संक्रमणलाई न्यूनीकरणका लागि सुरुमै चाल्नुपर्ने पहलकदमीमा डोटीका सरोकारवालाहरू अझै गम्भीर हुन नसकेको गुनासो आउन थालेको छ । एकले अर्कालाई जिम्मेवारी तोकेर पन्छिने काम भइरहेको आदर्श गाउँपालिका–४ का नरेश कुञ्जेडाले आरोप लगाए । ‘सुरुमै चासो र तदारुकता देखाइएन भने स्थिति भयावह हुन सक्छ’, दिपायल सिलगढी नगरपालिका–५ का हरिबहादुर भण्डारीले भने, ‘कोभिड संक्रमण गाउँघरमा बढ्दै गए पनि कोही पनि संवेदनशील भएका छैनन् ।’ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डोटीको पुस २७ गतेको बैठकले स्वास्थ्य कार्यालयको समन्वय र पालिकाहरूको सहयोगमा डोटी प्रवेश नाका बुडरमा भारतबाट घर फर्कनेहरूको विवरण राख्ने निर्णय गरेको डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए । तर कार्य के कस्तो भइरहेको छ भन्ने अनुगमन गर्न बाँकी रहेको उनी बताउँछन् । ‘स्वास्थ्य कार्यालय डोटीलाई बुडरमा अद्यावधिक गर्न भनेर निर्णय गरेको हो,’ निमित्त प्रजिअ खड्काले भने, ‘के भएको छ बुझेर खबर गरूँला ।’

उता स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डिल्लीरमण जोशीले एक्लै स्वास्थ्य कार्यालयले मात्रै गर्ने भन्दा पनि हाम्रो समन्वयमा पालिकाहरूले विवरण अद्यावधिक गर्ने जिम्मेवारी तोकिएको बताए । ‘बुडरमा भारतबाट आउनेहरूको विवरण राख्न सम्भव नै छैन’, जोशीले भने, ‘पालिकाले विवरण राखेको हुनुपर्छ ।’ यता कुनै पनि पालिकाहरूले भारत र अन्यत्रबाट गाउँपालिका आउनेहरूको विवरण राख्ने काम गरेका छैनन् । ‘को कताबाट आइरहेको छ र कहाँ गइरहेको छ भन्ने कुनै जनप्रतिनिधिहरूलाई थाहा छैन’, सायल गाउँपालिका–४ का उदयसिंह बोगटीले बताए । स्वास्थ्य कार्यालय डोटीले स्थानीय तहहरूलाई उपलब्ध गराएको एन्टिजेन किटबाट फेला परेका बाहेक अन्य संक्रमितको तथ्यांक राख्ने गरेको छैन । स्वास्थ्य कार्यालय डोटीका अनुसार हालसम्म डोटीमा ३३ जना कोरोना पोजिटिभ देखिएका छन् ।

स्थानीय सरकारले विगतझैं भारतबाट आउनेहरूलाई क्वारेन्टिनमा राख्ने व्यवस्था पनि गरेका छैनन् । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भारतबाट आउनेहरू सोझै घरमा गइरहेकाले स्थानीय सरकारको नियन्त्रण बाहिर रहेको अनुभव सुनाउँछन् । ‘दोस्रो लहरमा क्वारेन्टिन बनाउँदा विद्यालयमा ठूलो क्षति पुग्यो त्यसैले पनि के गर्ने भनेर अन्योल छ,’ खड्काले भने, ‘यस पटक कसरी व्यवस्थापन गर्ने भनेर कार्यपालिकाबाट अझै निर्णय भइनसकेकाले मैले धेरै बोल्ने स्थिति छैन ।’

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा