एलपीएलका ७७ वर्षीय दर्शकको क्रिकेट मोह : जसले एक खेल पनि छुटाएका छैनन् (भिडियो)
महेन्द्र बम, धनगढी ११ फागुन -
उमेरले ७० वर्ष र जीवनको ऊर्जाशील समय भारतका विभिन्न सहरमा गुजारेका प्रताप सिंह बडैलाको क्रिकेट मोह फक्रने क्रममा रहेको सूर्यमुखी फूल जस्तै छ । जसरी सूर्यमुखीलाई सूर्य उदाउने पर्खाइ रहन्छ, उनलाई पनि एलपीएलका हरेक खेल सुरुवातको पर्खाइ रहन्छ ।
डोटीको पूर्वी चौकी स्थित पोखरी पुर्ख्यौली घर भई अहिले कैलालीको गोदावरी नगरपालिका स्थित ओलानी स्थायी बसोबास भएका ७७ वर्षीय प्रताप सिंह बडैला धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६’ लाई नियमित अवलोकन गर्ने दर्शक मध्यका एक हुन् । उनले प्रतियोगितामा एउटा खेल पनि हेर्न छुटाएका छैनन् ।
(भिडियो)
‘बिहान नास्ता खाएर खेल हेर्न आउँछु,’ उनी भन्छन्, ‘दिउँसो कहिले खाना खान जान्छु नत्र फेरी चिया–नास्ता खाएर फेरी हेर्न आउँछु । मलाई अन्य खेल भन्दा क्रिकेट रमाइलो लाग्छ । त्यसैले सधैँ हेर्न आउँछु ।’
उनी १६ वर्षको उमेरमै पढ्ने भनेर भारतको ‘सपना’को सहर मुम्बई गए । उनका दाइले त्यहाँ एलिजाबेथ हाई स्कुलमा भर्ना गरिदिए । तर डोटीको सिलगढी स्थित पद्म पब्लिक मुक्ति नारायण स्कुलमा पढेका उनलाई त्यहाँ अङ्ग्रेजीमा पढ्न असहज भएपछि उनी पढाइलाई विश्रान्ति दिएर काम गर्न थाले । संयोगले उनी क्रिकेट मैदान नजिकै काम गर्न थाले र खेलहरू अवलोकनको प्रशस्त अवर जुर्न थाल्यो । त्यसपछि भारतका विभिन्न सहर पन्जाब, गुजरातलगायतका ठाउँमा काम गर्ने र क्रिकेट हेर्ने उनको दैनिकी जस्तै बन्यो । जीवनको ऊर्जाशील समय उनको त्यसरी नै बित्यो । ‘मानिसको नसा हो,’ उनी भन्छन्, ‘कसैको गीत नसा हुन्छ, कसैको मदिरा, कसैको लडाइँ–झगडा, तर मलाई क्रिकेट रमाइलो लाग्छ ।’
पञ्चायत कालमा उप–प्रधानको चुनाव समेत प्रतिस्पर्धा गरेका उनी अहिलेका नेताहरू युवा र समाज भन्दा आफ्ना लागि मात्रै बढी केन्द्रित हुने गरेको गुनासो गर्छन् । ‘यहाँ भर्खरका साना साना बाबुहरू पनि क्रिकेट खेल्न आउँछन्,’ ‘यति मेहनत गरेर खेलेको देख्दा खुसी लाग्छ । दर्शकलाई बस्न, क्रिकेट हेर्न राम्रा स्टेडियम बनाइदिएको भए राम्रो हुन्थ्यो । खेलाडी भनेका देशका गहना हुन् । त्यसैले सरकारले उनीहरूको हौसलाका लागि पनि काम गरिदिएको भए मलाई खुसी लाग्थ्यो । तर अहिलेका नेताहरू आफू मात्रै लड्छन् ।’