मेयर धनगढी प्याब्सन कप : शारदा माध्यमिक विद्यालय, एरिस्टो र स्टेपिङ स्टोन विजयी
धनगढी -
मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता अन्तरगत आज सम्पन्न तीन खेलमा शारदा माध्यमिक विद्यालय, एरिस्टो इङ्ग्लिस बोर्डिङ स्कुल र स्टेपिङ स्टोन विजयी भएका छन् । आज भएको पहिलो खेलमा शारदा माध्यमिक विद्यालयले त्रिनगर माध्यमिक विद्यालय माथि ६९ रनको जित दर्ता गर्यो । टस जिते ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन बनायो । १ सय ५२ रनको चुनौतीपूर्ण लक्ष पछ्याएर ब्याटिङ थालेको त्रिनगरले १५ ओभरमा ९ विकेट गुमाएर ८२ रन मात्रै बनाउन सक्यो । उसका सौरभ सेवाले अविजित ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो बन्न सकेन । बलिङ तर्फ शारदाका भक्त साउदले ३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ४ विकेट लिए । त्यस अघि शारदाका लागि गौरव कार्कीले ५ छक्का र २ चौको मद्दतले २७ बलमा अविजित ५४ रनको अर्धशतकीय पारी खेले । उसका योगेश साउदले २७ र आयुश ऐरले २५ रन बनाए । खेलको प्लेयर अफ दी म्याच गौरव चुनिए ।
आजै भएको दोश्रो खेलमा ऐश्वर्या विद्या निकेतनमाथि एरिस्टो इङ्ग्लिस बोर्डिङ स्कुलले १ विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ थालेको ऐश्वर्याले निर्धारित १५ ओभरका ८ विकेट गुमाएर १ सय ८ रन बनायो । १ सय ९ रनको विजयी लक्ष पछ्याएको एरिस्टोले १५ ओभरमा ९ विकेट गुमाएर लक्ष भेट्टायो । उसका सुवास सिंहले ४०, सौगात जोशीले २० र मनोज जोशीले १४ रन बनाए । त्यस अघि पहिलो इनिङमा ऐश्वर्याका राकेश विष्टले २४, स्वप्निल कडायतले २२, प्रयुश जोशीले २१ र सूचक शाहले १४ रन बनाएका थिए । खेलको प्लेयर अफ दी म्याच किरण देउवा चुनिए ।
स्टेपिङ स्टोन र शारदा विद्या निकेतनका बिच आज भएको तेस्रो खेलमा स्टेपिङले १९ रनको जित निकाल्यो । उक्त खेलको प्लेयर अफ द म्याच स्टेपिङका आर्यान दानपाली भए । धनगढीको प्रदेश प्रहरी कार्यालयको मैदानमा जारी प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको छ । सहभागी विद्यालयहरूमा एरिस्टो इङ्लिस बोर्डिङ हाई स्कुल, शारदा विद्या निकेतन, ग्यालक्सी हाई स्कुल, त्रिनगर माध्यमिक स्कुल, ओक्सफोड युनिभर्सल रिडेक्स हाई स्कुल, धनगढी मोडेल टेक्निकल स्कुल, ग्ली एकेडेमी स्कुल, लिट्ल फ्लावर बोर्डिङ हाई स्कुल, द गार्डनर इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।
यस्तै, शारदा माध्यमिक स्कुल, कैलाली मोडेल एकेडेमी स्कुल, ऐश्वर्य विद्या निकेतन धनगढी, वेष्टन क्रिष्टल एकेडेमी, ज्योति इङ्लिस बोर्डिङ स्कुल, कैलाली विद्या निकेतन, फारवेष्ट इङ्लिस बोर्डिङ स्कुल, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, थ्री स्टार बोर्डिङ स्कुल, ब्राइट वे पब्लिक स्कुल र पञ्चोदय माध्यमिक विद्यालय रहेका छन् ।