दक्षिणकालीमा एक्कासी चल्यो डोजर, राजश्व शाखा भन्छ –‘भाडा नदिने, किन राख्ने ?’
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित दक्षिणकाली हाट बजारमा उपमहानगरपालिकाले एक्कासी डोजर चलाएको छ ।
शुक्रबार दिउँसो त्यहाँ व्यापार गरिरहेका व्यवसायीहरुलाई जानकारी नदिई उपमहानगरपालिकाले डोजर चलाएको हो ।
सोही हाटबजारमा तरकारी पसल गरिरहेका यमराज रावलले भने –‘हामीलाई यहाँ व्यापार नगर अन्यत्र सर भनेको भए आफै व्यवस्थापन गर्थे तर, अहिले एक्कासी डोजर लगाउँदा पसलमा क्षति पुगेको छ । मेरो पसलमा रहेको आलुमा क्षति पुगेको छ ।’ उनले पसलमा डोजर चलेपछि त्यहाँ भएका सामान एक्कासी कहाँ व्यवस्थापन गर्ने भन्ने समस्या रहेको बताए ।
हाट बजारभित्र बनेका पक्की गोदामभित्र तरकारी, फलफूलका होलसेल पसलहरु छन् । सडक किनारमा रहेका केही कोठाहरुमा किराना, चिया पसलका साथै मासु सेन्टर थियो । भुपु सैनिक सहकारी संस्थाले सम्झौता गरि त्यहाँ विभिन्न व्यापारीहरुलाई व्यवसाय सञ्चालन गर्न अनुमति दिएको थियो । सहकारीका अध्यक्ष शंकर सिंह ऐरीले भने –‘यहाँका सडकबाट आइरहेका भाडा हामीले सम्झौता गरेको ठेकेदारलाई मासिक रुपमा बुझाउँदै आइरहेका छौं । हामीसंग अझै एक वर्षसम्मको सम्झौता बाँकी छ । तर, उपमहानगरपालिकाले एक्कासी यहाँ डोजर चलाएको छ । हामीलाई जानकारी पनि छैन् ।’ उनले उपमहानगरपालिकासंग सटरका विषयमा पटक–पटक संवाद भएको बताउँदै –‘हामीले सम्झौता गरेको मानिसलाई सटरबाट आएको भाडा बुझाउने हो तर, उपमहानगरपालिकाले सिधै आफनो खातामा आउनुपर्ने भनेर दबाब दिइरहेको थियो ।’ एक सय २५ सेयर सदस्य रहेको सो सहकारीले ठेक्का सम्झौता गरेका ठेकेदारसंग साढे ४ लाख धरौटी जम्मा रहेको उनको भनाई छ ।
तर, उपमहानगरपालिकाले सो हाटबजार आफनो मातहातमा आइसकेकाले त्यहाँ भएका सम्पूर्ण व्यवसाय हटाउन डोजर चलाएको प्रतिक्रिया दिएको छ । ‘हाट बजार पहिला ओम पाठकले ठेक्का सम्झौता गरेर चलाएका थिए । गत पुसमा सम्झौता मिति सकिएपछि छ महिनाभित्र खाली गर्न भनि पत्राचार पनि गरिसकेका थियौं । त्यो बेला त्यहाँ किसानका कोल्ड स्टोर पनि भएकाले हामीले साउनदेखिको भाडा उपमहानगरपालिकालाई दिन भनेका थियौं । तर, त्यो भाडा आएन’ राजश्व शाखा प्रमुख योगेन्द्रप्रसाद चन्दले भने –‘भाडा पनि नदिने हटन् पनि नमानेपछि डोजर चलाएका हौं ।’ उपमहानगरपालिकाले त्यहाँको हाटबजार हटाएर सपिङ कम्पलेक्स बनाउने योजना बनाएको छ । उनले भने –‘सपिङ कम्पलेक्सका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको छ ।’
वर्षातको मौसममै व्यवसायी गरिरहेको स्थानमा उपमहानगरपालिकाले डोजर चलाएपछि त्यहाँका व्यवसायी भन्छन् –‘अब कहाँ गएर व्यापार गर्ने होला ।’