सुदूरपश्चिमका गाउँबस्तीमा देउडाको रौनक
महेन्द्रनगर । सुदूरपश्चिममा गौरा संगै देउडा,ढुस्को,धुमारी र ठाडो खेलको रौनक छाएको छ ।
सुदूरपश्चिमका हरेक गाउँबस्तीमा देउडा भाका गुञ्जिन थालेका छन् । काठमाडौको टुडीखेल देखी पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमबासी देउडामा रमाएका छन । देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने र साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।
गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । यसपटक यहाँका विभिन्न विद्यालयमा समेत देउडा आयोजना गरिएको छ । आज९शुक्रबार० देखी महेन्द्रनगर स्थित शिवधाममा नागार्जुन ग्वाल्लेक समाजले देउडा,ठाडो खेल आयोजना गरेको छ । खुलामञ्चमा महाकाली साहित्य सङ्गमले भदौ १० गतेदेखी देउडा आयोजना गर्ने तयारी गरेको छ । भने महेन्द्र स्मारकमा लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा कञ्चनपुरले देउडा प्रतियोगिताको आयोजना गरेको छ । त्यसैगरी अन्यथलोमा समेत देउडा खेल सुरु भएको छ ।
गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको देउडिया रमेश पन्त बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, उनले भने, “देउडा लोक नृत्य पनि हो । यो हाम्रो ऐतिहासिक, धार्मिक महत्व र हाम्रो पहिचान पनि हो ।” देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।
“देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन”, उनले भने, “यसको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ ।” उनले पछिल्लो समय यसको महत्व अझ बढेको बताए ।
देउडामा पुराना धार्मिक र राजनीतिक कथादेखि समाजका गतिविधि गीतमार्फत बाहिर ल्याउने गरिन्छ । गीतमार्फत नै गतल प्रवृत्तिका विरुद्ध प्रहारसमेत हुने साहित्यकार कविराज भट्टले बताए । “सुदूरपश्चिममा अन्य चाडपर्व र मेला जात्रामा पनि देउडा खेलिन्छ”, उनले भने, “गौराका बेला देउडाको महत्व झन् बढी हुन्छ ।” देउडा सुदूरपश्चिमको पहिचानसमेत रहेको उनले बताए ।
गौरा सुरु भएदेखि यहाँका गाउँबस्तीमा १५–२० दिनसम्म देउडा खेल्ने गरिन्छ । “देउडामा वर्तमान राजनीतिक स्थिति र समाजमा घटेका घटना र विकृतिमाथि ब्यङग्य पनि गरिन्छ । माया प्रेमका कुरासमेत आउँछन”, उनले भने, “देउडालाई सांस्कृतिक चटनीका रूपमा पनि लिन सकिन्छ ।”
गोलो घेरामा एक–आपसमा हात बाँधेर ठूलो समूहले गाउँदै नाच्ने गरिन्छ । त्यसैगरी गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेलहरू पनि खेलिन्छन । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्कमरूपमा गाइन्छ ।” स्थानीय टीकादत्त जोशीले भने, “हाम्रा यी परम्परा हराउँदै जान थालेका छन्, युवापुस्ताले यसको संरक्षण गर्नु जरुरी छ ।” संस्कृति मासिँदै गए पहिचानसमेत हराउँदै जाने भएकाले यसको पुस्तान्तरण आवश्यक रहेको उनले बताए ।
“देउडामा यो ठाउँको इतिहास, संस्कृति र साहित्य छ”, उनले भने, “अहिले त मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर त्यसो होइन, देउडा इतिहास र संस्कृतिसँग जोडिएको छ, अहिलेका पिँढीले यो बुझ्न जरुरी छ ।” गौरापर्वमा साथीभाइ भेटघाट गर्ने अवसर पनि मिल्ने भएकाले देउडा गीतमा गाउँघरको सम्झना, माया, प्रेम र पुराना चालचलनका भाका हालेर गाइने गरिन्छ । पछिल्लो समय देउडाको मौलिकता हराउन लागेकप्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।