स्वस्तिक अस्पतालमा पत्थरीको अप्रेसन पछि बिरामीको मृत्यु
धनगढी । धनगढीस्थित स्वस्तिक अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५७ वर्षीय ऐजनलाल चौधरीको अस्पतालमा मृत्यु भएको हो ।
पत्थरीका विरामी रहेका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो । उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो । अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको जनाए ।
मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि सवा १ बजे अप्र्रेसनको लागि अप्रेसन थेटर लगियो । सुरुमा अप्रेसन सफल भयो भनियो । हामीमा खुशीको सीमा थिएन । तर जब साँझ ७ बज्यो बिरामी बेहोस भए । उनको पेट पुरै फुल्यो । बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएछ । पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए । बिरामीको अवस्था झन बिग्रियो । त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए ।’
अस्पतालका अध्यक्ष महेश जोशीले अप्रेसनका क्रममा मृत्यु हुनुको कारण अहिलेनै भन्न नसकिने बताए । उनले भने –‘उपचारका क्रममा विरामीको मृत्यु हुनुको कारणबारे चिकित्सकसंग आधिकारिक जानकारी नआएसम्म केही भन्न सकिदैन् ।’