तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन सुझाव
धनगढी,२३ भदौ । तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन सुझाव दिइएको छ। धनगढीमा सुरक्षित गर्भपतन सेवाका बारेमा सुदूरपश्चिमका सञ्चारकर्मीहरूसँग कृपा नामक संस्थाको आयोजनामा शुक्रवार अन्तरक्रिया गरिएको हो।
कार्यक्रमका सहभागीहरुले तालिम प्राप्त स्वास्थ्यकर्मी तथा सुचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन गराउन सुझाएका थिए। जहाँ पायो त्यहीँ गर्भपतन गराउँदा जोखिम बढेको भन्दै तालिम प्राप्त स्वास्थ्यकर्मी तथा सुचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन गराउन सुझाएका हुन्।
गर्भपतन नगराए गर्भवती महिलाको ज्यानमा खतरा पुग्नसक्ने वा शारीरिक, मानसिक स्वास्थ्य खराब हुन सक्ने, बच्चा बिकलाङ्ग जन्मिने भनि इजाजत प्राप्त चिकित्सकको राय छ। कृपा नामक संस्थाको आयोजना भएको कार्यक्रममा सो संस्थाका निर्देशक आनन्द तामाङले नेपालमा सुरक्षित गर्भपतन सेवाका सवालमा गर्नुपर्ने काम बारेमा प्रस्तुतिकरण गरेका थिए। यसैगरी, पत्रकार उद्धव पुरीले गर्भपतनको सवालमा समाचार लेख्दा पत्रकारले तस्बिर प्रयोगलगायत धेरै कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए।