गौरीफन्टा नाकामा सुरक्षा व्यवस्था कडा
धनगढी,२३ भदौ। नेपालसँग सीमा जोडिएका भारतीय नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतको नयाँ दिल्लीमा आज सुरु हुन लागेको जी–२० शिखर सम्मेलनलाई मध्यनजर गर्दै नेपालसँग सीमा जोडिएका नाकामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो।
खास गरी नेपालबाट भारततर्फ जानेहरूलाई सीमा नाकामा भारतीय सुरक्षा बल एसएसबीले विशेष चेकजाँच र सोधपुछ गरिरहेको छ।भारत जानेहरूलाई नेपाली नागरिकता अनिवार्य गरिएको छ। धनगढीको त्रिनगर–गौरीफन्टा नाकामा भारत जाने प्रत्येक नागरिकको नाम, ठेगाना र जानेस्थानको अभिलेखसमेत अनिवार्य गरिएको छ।
सीमा नाकामा सीसीटीभीबाट निगरानी र कुकुरबाट चेकजाँच भइरहेको छ। साथै सादा पोसाकमासमेत सुरक्षाकर्मी परिचालन गरी सुरक्षा जाँच बढाइएको भारतीय सीमा सुरक्षा बलका अधिकारीले बताएका छन्। आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँ दिल्लीमा भेला भइरहेका छन्।
जी–२० १५ वर्षअघिको आर्थिक संकटका बेला विश्व अर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रूपमा स्थापना भएको हो ।भारत, चीन, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, बेलायत र अमेरिका यो समूहका सदस्य देश हुन् । स्पेनलाई पाहुनाका रूपमा निम्तो गरिएको छ ।