सुदूरपश्चिम प्रदेशकै ठुलो शीत भण्डार सङ्कटमा

September 10, 9:26

धनगढी,२४ भदौ । कैलालीको घोडाघोडी नगरपालिका –१० पहलमानपुरमा रहेको सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो क्षमताको शीत भण्डार सङ्कटमा परेको छ । 

शीत भण्डार सञ्चालनका लागि लिएको ऋण लामो समयसम्म तिर्न नसक्दा शीतभण्डार सङ्कटमा परेको हो । वर्षौँदेखि किसानका उत्पादन स्टोर गर्ने स्थान नभएपछि सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिले २०७७ फागुनमा तीन हजार मेट्रिक टन क्षमता भएको शीत भण्डार सञ्चालनमा ल्याएको थियो ।

अहिले शीत भण्डारको २५ करोड रुपियाँभन्दा बढी ऋण रहेको अध्यक्ष रामबहादुर रावतले बताए । उनले सरकारले अनुदान नदिँदा अहिलेसम्म किसानकै पैसाबाट चलिरहेको कोल्ड स्टोरलाई लामो समयसम्म सञ्चालन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

२०७३ सालमा ६ महिनाभित्र साढे नौ करोड रुपियाँ लगानीमा निर्माण गर्ने गरेर तीन करोड रिज्म नामको संस्थाको अनुदानमा पर्न सफल भएको सो शीत भण्डार जमिनका कारण पूर्वाधार निर्माणको स्टिमेट परिवर्तन गर्दा बजेटको आकार बढ्न गएर १७ करोड रुपियाँभन्दा बढी लागत खर्च लागेको सञ्चालकहरूको भनाइ छ ।

‘भवनको बेसमा हात्तीपाइले राखेर स्टिमेट बनाएका थियौँ, जमिनका कारण ४० फिट पाइलिङ बेस तयार गर्दा बजेटको आकार बढेर गयो’ सञ्चालक समिति अध्यक्ष रावतले भन्नुभयो, ‘छ महिनाभित्र काम गर्ने गरेर काम सुरु गरिए पनि समय ग्याब, मूल्यवृद्धि, सामान समयमा ल्याउन नसक्नु, कोरोनाको कारण र सामान नपाइनेलगायतका समस्याले ढिलाइ भयो ।’

२०७७ साल फागुन अन्तिम सातादेखि सञ्चालनमा आएको शीत भण्डार सुरुको स्टिमेटभन्दा दोब्बर खर्च निर्माणमा लागेपछि अहिले कम्पनी ऋणमा रहेको छ । 

५० हजार रुपियाँ बराबरको सेयर लिएका १०१ सेयर सदस्यबाट उठेको रकम, रिज्मबाट आएको अनुदान एक करोड १२ लाख  रुपियाँ, त्यसैगरी कृषि ज्ञान केन्द्रबाट प्राप्त नौ लाख रुपियाँ, नगरपालिकाबाट प्राप्त ६ लाख ५० हजार रुपियाँ, प्रदेश सरकारबाट प्राप्त पाँच लाख रुपियाँ अनुदानलाई शीत भण्डार, बाटो निर्माण, घेरबारमा लगाएको बताउँदै सञ्चालक सदस्य रावतले बाँकी सबै ऋण रहेको बताए ।

बैङ्क वित्तीय संस्था, सहकारी, समूहबाट लिएको ऋण तिर्न बाँकी रहेको छ भने निर्माण सामग्री ल्याएका व्यापारीकोमा समेत भुक्तानी दिन बाँकी रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले दुई पटकसम्म रातो किताबमा शीत भण्डारका लागि भन्दै नौ करोड ९० लाख रुपियाँ अनुदान राखेको थियो । तर प्राइभेट कम्पनी अन्तर्गत दर्ता भएर सञ्चालनमा आएको शीत भण्डारलाई अनुदान दिन नमिल्ने भएपछि प्रदेश सरकारले सो रकम पनि उपलब्ध गराउन नसकेको जनाएको छ ।

शीत भण्डार सुरु भएकै वर्ष यहाँ तीन हजार ४५३ जना किसानले आफ्नो उत्पादन राखेका थिए । अहिले ६ हजार ५१४ जना किसानले ११ हजार बोरा उत्पादन राखेको अध्यक्ष रावतले जानकारी दिए ।

हाल शीत भण्डारमा कैलालीका १३ वटै स्थानीय तह, कञ्चनपुर, डडेलधुरा लगायतका जिल्लाका किसानको उत्पादन भण्डारण हुदैैआएको छ । तरकारी तथा फलफूल भण्डारण गर्न सकिने सो शीत भण्डारले लामो समयदेखि बिद्युत् प्राधिकरणको विल समेत तिर्न नसकेपछि पटक पटक यहाँ बिद्युत काटिएको थियो । 

बिद्युत काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरा बढ्दैगएको छ । अहिलेसम्म करिब २२ लाख रुपियाँ बिद्युत् प्राधिकरणलाई बुझाउन बाँकी रहेको जनाइएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा