धनगढी विमानस्थलको पार्किङ,इन्धन ट्याङ्कर, फायर ट्रक र बाटो (सडक एक्सेस)का लागि एक करोड ८० लाख बजेट
धनगढी,२८ भदौ । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा सुदुरपश्चिमका ५ विमानस्थलसहित देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ)निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।
प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ का लागि कुल ३६ अर्ब ६६ करोड रूपैयाँ बजेट ल्याएको छ। यसमध्ये चालु खर्चतर्फ ७ अर्ब रुपैयाँ रहेको छ भने पुँजीगत खर्चतर्फ १९ अर्ब बजेट विनियोजन गरेको छ। वित्तीय व्यवस्थातर्फ १० अर्ब ६६ करोड रुपैयाँ हुने गरी बजेट पारित भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
प्राधिकरणले सुदुरपश्चिमका ५ सहित देशभरका विमानस्थल स्तरोन्नतिका लागि बजेट छुट्याएको छ। वि6मानस्थलको रन–वे (धावनमार्ग) विस्तार, ट्याक्सी–वे ओभरले, पार्किङ र विमानस्थल सुदृढीकरण गर्न मुलुकभर सञ्चालनमा रहेका विभिन्न विमानस्थलका लागि बजेट छुट्याएको हो। जसअनुसार धनगढी विमानस्थलको सवारी पार्किङ र बाटो (सडक एक्सेस)का लागि एक करोड २० लाख बजेट छुट्याएको छ।
आर्थिक वर्ष २०७८/७९ मा कुल एक करोड १८ लाख नौ हजार रूपैयाँ लागतमा यो विमानस्थलमा सवारी पार्किङ र सडक विस्तारका लागि सम्झौता भएको थियो। धनगढी विमानस्थलमा इन्धन ट्याङ्कर, फायर ट्रक र विमानस्थल बाटो निर्माणका लागि ६० लाख रूपैयाँ छुट्याएको छ।त्यस्तै, प्राधिकरणले बहुवर्षीय आयोजना अन्तर्गत चालु वर्ष महेन्द्रनगर विमानस्थल (मझगाँउ विमानस्थल) मा धावनमार्ग, ट्याक्सी–वे र पार्किङ लगायत कामका लागि नौ करोड ७६ लाख ९९ हजार रूपैयाँ छुट्याएको छ।
प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा यो विमानस्थलको सुदृढीकरणका लागि ४५ करोड ६६ लाख २४ हजार रूपैयाँ लागतमा धावनमार्ग, ट्याक्सी–वे र पार्किङका लागि सम्झौता भएको थियो। अछामको साँफेबगर विमानस्थलमा नागरिक उड्डयन कार्यालयको आगमन कक्षदेखि पार्किङसम्म जाने सडक निर्माणका लागि सात लाख ५० हजार रूपैयाँ छुट्याएको छ। त्यसैगरी, अछामको साँफेबगर र कमलबजार विमानस्थल स्तरोन्नतिका लागि क्रमशः ३० र २० लाख, दार्चुलाको गोकुलेश्वर विमानस्थल स्तरन्नोतिका लागि ७४ लाख रूपैयाँ छुट्याएको छ।