सुदूरपश्चिमका मुख्यमन्त्री सहित सबै मन्त्री काठमाडौँमा
धनगढी,२८ भदाै । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा सबै मन्त्रीहरू काठमाडौँ पुगेका छन् ।
असोज ५ गते चीनको भ्रमणमा जाँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुदूरपश्चिमका महत्त्वपूर्ण दुई माग सम्बोधन गराउन मुख्यमन्त्री शाहको नेतृत्वमा सबै मन्त्रीहरू काठमाडौँ पुगेका हुन् ।
मुख्यमन्त्री शाहसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा,सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी,आर्थिक मामिला मन्त्री नरेश शाही काठमाडौँ पुगेका छन् । मुख्यमन्त्रीसहित केही मन्त्री हिजो नै काठमाडौँ पुगेका हुन् भने केही त्यस अघि नै काठमाडौँ पुगिसकेका थिए ।
कृषि मन्त्री चौधरी भने आज काठमाडौँ पुगेका छन्। आज साँझ ५ बजे प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिमका दुई महत्त्वपूर्ण बिषय चीन भ्रमणमा समेट्न आग्रह गर्न काठमाडौँ पुगेको एक मन्त्रीले बताए । उनका अनुसार उत्तर दक्षिण जोड्ने दुई नाका सुचारुका लागि चीन सरकारसँग समन्वय गर्न प्रधानमन्त्रीलाई मुख्यमन्त्रीसहितका मन्त्रीहरूले संयुक्त अपिल गर्ने भएका छन् । बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको(ताक्लाकोट)सीमा नाका र महाकाली कोरिडोर हुँदै पुगिने तिंकर नाकाका बिषय चीन भ्रमणको एजेन्डा नबाउन मुख्यमन्त्री सहितका मन्त्रीहरू काठमाडौँ पुगेका हुन्।
सुदूरपश्चिमको बैतडी घर भएका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पहिलो पटक प्रधानमन्त्री हुँदा उत्तर–दक्षिण सीमा जोड्ने सेती लोकमार्गको अवधारणा ल्याएका थिए । चीन भ्रमणमा प्रधानमन्त्रीले यी दुई नाकाका बिषयमा चासो राखे र चिन सरकार यसमा सराकारत्मक भए प्रदेशको समृद्धिको आधार बन्न सक्ने सरकारको बुझाइ छ।
कैलालीको टीकापुरदेखि बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको ९ताक्लाकोट० सीमा नाकासम्म ३ सय ५९ किलोमिटर लामो सेती लोकमार्गको हालसम्म १ सय ८७ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ।
कैलाली र डोटी जिल्लाको पूर्वी भाग, अछाम, बाजुरा र बझाङ जिल्लाका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य लोकमार्गसँग जोडिएका छन्। विशेषतः हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न सेती लोकमार्ग पश्चिमभरिमा सबैभन्दा छोटो र कम लागत लाग्ने महत्त्वपूर्ण आयोजना हो।