थारु समुदायमा अट्वारी पर्व मनाइँदै
धनगढी । आज अट्वारी पर्व । पश्चिम नेपालका थारु समुदायको प्रमुख मध्येको एक मौलिक सांस्कृतिक, धार्मिक पर्व । अट्वारी पर्व धुमधामका साथ मनाइँदै छ ।
अट्वारी पर्व हरेक वर्ष भदौ शुक्ल पक्षको पहिलो आइतबार मनाइने गरिन्छ । अटवारी मुलतः थारू समुदायका पुरुषले मनाउने पर्व हो । तर, थारू समुदायका महिला पनि अटवारी ब्रत बस्ने गर्दछन् । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेत जिल्लाका थारू समुदायले अटवारी पर्व मनाउने गरेका छन् ।
अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातिमा दर खाएर यो पर्व शुरु हुन्छ । आइतबार ब्रत बस्ने गरिन्छ । र, साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने गर्दछन् । अटवारी पूजामा रोटी, काक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ । त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ । फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन रहेको छ ।
अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ । त्यस्तै, अटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको छ ।
भदौ ३१ गतेका दिन प्रदेश भरी सार्वजनिक सार्वजनिक विदा दिने गरी राजपत्रमै उल्लेख गरिसकेको छ भने कैलाली कञ्चनपुरका स्थानिय तहहरुले सूचना जारी गर्दै आवश्यकता अनुसार विदा घोषणा गरेका छन् । कैलालीको कैलारी गाउँपालिकाले अट्वारी पर्वको अवसरमा आफनो क्षेत्रभित्रमा आज र भोली गरि दुई दिन विदा दिने घोषणा गरेको छ ।
ब्रत बसेका पुरुषहरूले बिहानभरि घरको कामकाज सकेपछि गहँ, चामल र अण्डी चामलको विभिन्न थरीका रोटी पकाउने गर्दछन् । यसका साथै दही, घ्यु, केरा, काक्रो, अम्बा आदि सगुनको रुपमा प्रयोग गरिन्छ । दिनभरीको ब्रतपछि साँझ सूर्य अस्ताउने बेला अन्नी पुजा गरेर अट्वारी ब्रत खोल्ने चलन छ । ब्रत खोले पनि ब्रतालुले तरकारी र नुन खुर्सानी भने खान पाइदैन ।
अटवारी पर्वका क्रममा सोमबार बिहानै खानाका विभिन्न परिकारहरू ९भात, कर्कलो, तामा, गेडागुडी, पकौडी, खेरिया लगायत० तयारी गरी फलाहार गरिन्छ । आइतबारको ब्रत तोड्दा र सोमबार बिहान फलाहार गर्दा पहिलो भाग दिदीबहिनीका लागि छुट्याएर सोमबार नै दिदीबहिनीका घर पु¥याउने चलन छ ।
किम्वदन्ती अनुसार प्राचीनकालमा थारु समुदायका एक छोरीमाथि भइरहेको अत्याचारबाट उनलाई पाँच पाण्डव मध्येका माइला भाई भीमले उद्धार गरेको स्मरणमा उनै भीमको नाममा व्रत बस्ने र पुजाआजा गर्ने चलन छ ।
अर्को किंवदन्ती अनुसार माहिला पाण्डव भिमले थारु राजा दंगीशरणलाई युद्धमा सहयोग गरेको कारण उनको लागि पुजाव्रत गर्ने गरेको पनि विश्वास गरिन्छ ।
माहिला पाण्डव भिम सुर्खेतको काक्रेबिहार घुम्न आएको बेला दाङका राजामाथि शत्रुबाट आक्रमण भएपछि उतिखेर रोटी पकाउँदै गरेका भिमले काम छोडेर भोकभोकै दंगीशरणलाई सहयोग गरेको र उनको सहयोगमा राजा दंगिशरणले शत्रुमाथि विजय प्राप्त गरेका थिए ।
प्रचलनअनुसार अट्वारीमा विभिन्न थरीका रोटी पकाउने क्रममा एउटा ठूलो साइजको रोटी पकाइने गरिन्छ । यो रोटीलाई भिम रोटी भनिन्छ । भीमले रोटी पकाउँदा पकाउदै लडाईमा गएकाले त्यो रोटी एकातर्फबाट मात्रै पाकेको थियो । अट्वारीमा पकाइने भीम रोटी पनि एकातर्फमात्र पकाइन्छ ।