चाडपर्वलक्षित विशेष सुरक्षा योजना
धनगढी । दसैँतिहार, छठलगायत चाडपर्व शान्तिपूर्ण वातावरणमा सुरक्षित ढङ्गले मनाउन तथा सवारी दुर्घटना नियन्त्रण गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले विशेष सुरक्षा योजनाको तयारी गरेको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले दसैँतिहार, छठलगायतका चाडपर्वमा शान्ति सुरक्षाका साथै ढुक्कले बनाउने वातावरण निर्माणमा लागि सुरक्षा योजना नै लागु गरिने बताउनुभयो।
दसैँतिहार मनाउनका लागि काठमाडौँलगायत विभिन्न सहर तथा भारत गएकाहरू घर फर्किने भएकाले सर्वसाधारण नागरिकको सुरक्षा, यातायात सेवामा सहजीकरण, दसैँ तथा मेलामा हुने अराजक गतिविधि रोक्न नौ जिल्लामा करिब चार हजार प्रहरी परिचालन गरिने जानकारी उहाँले दिनुभयो। चाडबाडका बेला भारतलगायत विदेशबाट आउने लुटिने, सीमानाकामा समस्या हुने, यातायातको समस्या हुने, अनावश्यक दुःख र हैरानी पाउने जस्ता समस्यालाई ध्यानमा राखेर शान्ति सुरक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो।
सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, अनावश्यक सामान लैजाने, मदिरा सेवन गरी सवारी चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने र जुवातास खेल्नेलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको चेतावनीसमेत उहाँले दिनुभयो।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख बोहराले लागुऔषध ओसारपसार, कारोबार, विभिन्न सामानको तस्करी र महिला हिंसा नियन्त्रण यो क्षेत्रका मुख्य चुनौती रहेको चर्चा गर्दै उक्त क्षेत्रमा उल्लेखनीय सुधार गरेर छोड्ने प्रतिबद्धता जनाउनुभयो।
सामान्य नागरिकको दुःखसुखको साथीका रूपमा सहयोग गर्न आफू मातहतका प्रहरी निकाय तथा कर्मचारीलाई निर्देशन दिएको उहाँले बताउनुभयो। आफूले पनि छिटोछरितो प्रहरी सेवा दिन हरप्रयास गरेकाले मातहतकालाई पनि सोही अनुसार निर्देशन दिएको उहाँले स्पष्ट पार्नुभयो।
चाडबाडका बेला तराईबाट पहाडी जिल्लामा जाने यातायातका सवारीसाधन दुर्घटना हुने जोखिम चुनौतीपूर्ण भएकाले त्यसको नियन्त्रणका लागि प्रत्येक जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई क्षमताभन्दा बढी यात्रु बोक्न नदिन र मदिरा सेवन गरी सवारी चलाउनेविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको उहाँले बताउनुभयो।
चालु आर्थिक वर्षको यो दुई महिनामा अवैध गतिविधि, तस्करी रोक्न र लागुऔषध नियन्त्रणमा उल्लेख्य काम भएको दाबी पनि उहाँले गर्नुभयो। उहाँका अनुसार दुई महिनामा १९२ जनालाई लागुऔषध कारोबारी समातिएका छन्। १२६ जनाविरुद्ध मुद्दा चलाइएको छ।
यस्तै २३५ एम्पुलभन्दा बढी लागुऔषध र ३६ किलो चरेस समातिएको छ। तस्करी नियन्त्रणका क्रममा दुई करोड ७७ लाख ७० हजार बराबरको सामान बरामद गरिएको छ । धनगढी, टीकापुर, महेन्द्रनगरलगायतका सहरमा लागुऔषधको प्रयोग चुनौतीपूर्ण बन्दै गएकाले त्यसको नियन्त्रणका लागि विशेष अभियान नै चलाइएको प्रहरी नायब महानिरीक्षक बोहराले बताउनुभयो।
“कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान निरन्तर भइरहेको छ,” उहाँले भन्नुभयो, “अदालतबाट सजाय पाएर पनि कैद भुक्तान नगरेकालाई खोजी गरी पक्राउ गर्ने कार्य जारी रहेको छ।” सुदूरपश्चिम प्रदेशमा हुने अवैध गतिविधि नियन्त्रणमा प्रहरी सशक्त र सक्रिय भएको भनाइ उहाँको छ।