टेलिकमको कवाडी ठेक्कामा अनियमितता आशंका, प्रशासनद्वारा छानबिन समिति गठन 

January 11, 11:36

धनगढी  ।  नेपाल टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयबाट तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामानको लिलाम बिक्रीका क्रममा अनियमितता भएको आशंकामा स्थानीय प्रशासनले छानबिन समिति गठन गरेको छ । 

टेलिकमको कवाडी ठेक्कामा अनियमितता आशंका, प्रशासनद्वारा छानबिन समिति गठन 

तीन दिनअघि कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको निर्देशनमा प्रहरीले टेलिकमको दूरसंचार कार्यालय गेटाबाट लोड गरेर लैजाने क्रममा सामग्रीसहितका दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका लोड ट्रकको तौल गरेर जिम्मा राख्न प्रजिअ मिश्रले प्रहरीलाई निर्देशन दिएका थिए । टेलिकमको अभिलेखभन्दा प्रहरीले नियन्त्रणमा लिएका ट्रकको तौल झण्डै दोब्बर देखिएपछि अनियमितताको आंशका गरिएको हो ।

टेलिकमको गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५.६७९ टन) निकासी भएको अभिलेख छ । तर प्रहरीले नियन्त्रणमा लिइएका दुई वटै लोड ट्रकको तौल ५१ हजार ८३५ किलो (५१.८३५ टन) देखिएको छ । दुई वटा ट्रक मध्ये रा १ ख ३२०६ नम्बरको ट्रक ईलाका प्रहरी कार्यालय मालाखेतीले आइतबार गेटाबाट नियन्त्रणमा लिएको थियो । मालाखेती प्रहरीका एक अधिकृतका अनुसार उक्त लोड ट्रकको तौल २७ हजार ८३५ किलो (२७.८३५ टन) छ । ‘धर्मकाँटामा तौलेर मात्र कार्यालयभित्र ल्याएका हौं,’ ती अधिकृतले भने ‘भरिभराउ ट्रकको तौल २७ हजार ८३५ किलो भएको थियो ।’

गेटाबाटै समान लोड गरेर नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबारनै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको छ । उक्त लोड ट्रकको तौल २४ हजार किलो (२४ टन) रहेको जिल्ला प्रहरीका एक अधिकृतले बताए ।

सामान्यतया १२ चक्के खाली ट्रकको तौल अधिकतम १२ टन हाराहारी हुन्छ । प्रहरी नियन्त्रणमा रहेका एक ट्रकका चालकका अनुसार आफ्नो खाली ट्रकको तौल ११.८ टन रहेको बताए । त्यस हिसाबले दुई वटै खाली ट्रकको अधिकतम तौल २४ टन छ । कूल तौलमा बाँकी २७.८३५ टन टेलिकमबाट उठाएको समान छ । तर टेलिकमको अभिलेखमा भने १५.६७९ टन मात्र उल्लेख छ । त्यस हिसावले १२.१५७ टन तामाजन्य सामान टेलिकमबाट अनियमितता भएर निकासी भएको अनुमान गरिएको हो । यसकार्यमा प्रहरीका केही अधिकृतहरु, टेलिकमका कर्मचारी र ठेकेदार कम्पनी बीच मिलेमतो भएको आशंका रहेको कैलालीका एक सुरक्षा सम्बद्ध अधिकृतले बताए ।

निर्देशनालयका अनुसार प्रबल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग ठेक्का सम्झौता गरेको थियो । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्यामकुमार जैसवालले कारोबार हेर्ने गरेको निर्देशनालयका उपप्रबन्धक गोबिन्दसिंह धामीले बताए । निर्देशनालयका अनुसार टेलिकमले उपलब्ध गराउने तामाजन्य (स्क्रप कपर केबल) कवाडी सामान खरिदकर्ता कम्पनीले टेलिकमसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैयाँ ८९ पैसामा खरिद सम्झौता भएको छ । त्यस हिसाबले १२.१५७ टन हिनामिना भएको देखिएको छ । उक्त परिमाणको खरिद मूल्य एक करोड तीन लाख ४३ हजार ४१८ रुपैयाँ हुन आउँछ ।

टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियाका प्रमुख किशोर भट्टले आफ्नो कार्यालयका तर्फबाट कुनै त्रुटि नभएको दाबी गरेका छन् । ‘हाम्रो कार्यालयको कुनै त्रुटि छैन, हामीमाथिको आरोपमा कुनै सत्यता छैन,’ भट्टले भने ‘कुनै तलमाथि नहोस् भनेर हामीले कार्यालयका तर्फबाट उपप्रबन्धक गोबिन्दसिंह धामीको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले सबै हेर्ने संरचना बनाएका छौं ।’

ठेकेदार कम्पनीले पुस ६ गतेदेखि सामग्री संकलन सुरु गरेको हो । हालसम्म ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरिसकेको अभिलेख छ । जसअन्तर्गत धनगढी कार्यालयबाट २८ हजार ९७० किलो, भजनीबाट एक हजार ६३७ किलो, टीकापुरबाट १० हजार १४४ किलो र गेटाबाट १५ हजार ६७९ किलो गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ । सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेलधुरा र दिपालयबाट सामान उठाउन बाँकी छ ।

टेलिकमका अनुसार तामाजन्य सामग्री बिक्रीका लागि मंसिर २४ गते सम्झौता भएको हो । सम्झौता अनुसार ठेकेदार कम्पनीले ९६ टनका लागि ८ करोड रुपैयाँ धरौटी राखेको छ । प्रादेशिक कार्यालय प्रमुख भट्टले भने, ‘९६ टन अनुमानित राखेका हौं । बढी तौल संकलन भएमा पनि कम्पनीले खरिद गर्नुपर्ने सम्झौता छ । त्यसै अनुसार उसले खरिद पनि गरिरहेको छ ।’

यसैबीच जिल्ला प्रशासनले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा तीन वटै सुरक्षा निकायका प्रतिनिधि, प्राविधिक र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधि सम्मिलित छानबिन समिति गठन गरेको छ । प्रजिअ मिश्रले छानबिन समितिलाई चाँडो प्रतिवेदन दिन निर्देशन गरेको बताए । - साभार कान्तिपुर बाट 

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा