सीमा अतिक्रमण विरुद्ध धनगढीमा ‘सडकमा स्रष्टाहरूको आवाज’
धनगढी,
कात्तिक २२ –
सुदूरपश्चिमका स्रष्टाहरूले नेपाली भूमि भारतीय नक्सामा राखिएको प्रति सिर्जना मार्फत विरोध जनाएका छन् । सर्जक तथा साहित्यकारहरूको सक्रियतामा सीमा अतिक्रमण विरुद्ध ‘सडकमा स्रष्टाहरूको आवाज’ कार्यक्रममा उनीहरूले विरोध जनाएका हुन् ।
धनगढीमा जम्मा भएर स्रष्टाहरूले विभिन्न साहित्यिक रचना र गीत सङ्गीत मार्फत विरोध जनाए । भारतको पछिल्लो निर्णयको विरुद्धमा सबैतिर प्रदर्शन भइरहेका बेला स्रष्टाहरू रचना वाचन मार्फत तर्क र सिर्जनात्मक विरोधमा अग्रसर भएका हुन् ।
गत १६ गते भारतले नेपालको लिपुलेक भारतीय नक्सामा राखेको विरोधमा राष्ट्र प्रेमले ओतप्रोत सिर्जना मार्फत यस क्षेत्रका सर्जक र साहित्यकारहरूले विरोध जनाए ।
सिर्जना वाचनमा देश प्रेम, राष्ट्रियताको भाव, राष्ट्र प्रेमले ओतप्रोत रचना मात्रै होइनन् युवाहरूले आक्रोश पनि समेटिएका रचना समेत वाचन गरेका थिए ।
सबैतिर विरोधका स्वरहरू उठिरहेका भन्दै सिर्जना मार्फत उक्त विरोध र भारतीय हस्तक्षेप विरुद्ध कटाक्ष गर्दै सर्जकहरूले सिर्जना वाचन गरेका हुन् ।
हतियार भन्दा रचना र सिर्जना मार्फत गरिएको तार्किक विरोधको अझ बढी महत्त्व हुने भन्दै साहित्यकार पनि भारतीय हस्तक्षेप विरुद्ध एक्वेवद्धता जनाउन थालेका छन् ।
नेपाल संकृतिसंघ गोदावरी, नेपालका अध्यक्ष पदमराज जोशीले देश एकजुट हुन र युवाहरू एक्वेबद्ध हुन आवश्यक रहेको भन्दै सृजना मार्फत राष्ट्रियताको पक्षमा वकालत गर्नु पर्ने बताए ।
सामाजिक सञ्जालमा सृजना र व्यंज्ञ मार्फत समसामयिक अवस्थाको खरो टिप्पणी गर्दै आउनु भएका गड्सेरी माइलाले सिर्जनात्मक रूपमा सबै सर्जकहरू जागरूक हुनुपर्ने धारणा व्यक्त गरे ।
गत १६ गते भारतले सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा, कुटी, गुन्नी, नाबी लगायतका झन्डै ३ सय ७२ वर्ग किलोमिटरका भूभागहरू आफ्नो राजनीतिक नक्सामा राखेर आफ्नै हो भन्ने दाबी गरेको विषयमा अहिले सर्वत्र विरोध प्रदर्शन भइरहेका छन् । सोही विरोधमा समाज रूपान्तरणको बलियो माध्यमका रूपमा स्थापित साहित्य र कला मार्फत एक्वेवद्धता जनाउन ‘सडकमा स्रष्टाहरूको आवाज’ कार्यक्रम आयोजना गरिएको कवि तथा साहित्यकार जनक रसिकले बताए ।