युपीमा कोरोना, सुदूरपश्चिममा त्रास : भारतले भिसा बन्द र नाका कडाई गर्दा यहाँ असर कस्तो ?

Corona
Corona
March 13, 9:59

धनगढी, फागुन ३० - विश्व स्वास्थ्य संगठन (इब्लुएचओ) ले कोरोना भाइरस (कोभिड-१९)लाई पान्डेमिक घोषणा गरेसँगै भारतले जारी गरेका सबै भिसा रद्ध गरेको छ। अप्रिल १५ सम्म जारी गरिएको भिसा रद्द गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ।
यससँगै अप्रिल १५ सम्म भारतले कुनै पनि राष्ट्रका नागरिकलाई भिसा नदिने भएको छ। कुटनीतिक र श्रम भिसालाई भने रद्ध गरिएको छैन।
'कुटनीतिक अधिकारी, राष्ट्र संघ/अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरुका लागि जारी गरिएका भिसा, श्रम तथा योजना बाहेकका सबै भिसा अप्रिल १५, २०२० सम्मका लागि रद्ध गरिएको छ। यो व्यवस्था मार्च १३, १२:०० जिएमटीबाट लागू हुनेछ,' भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।
भारतको विदेश मन्त्रालयले 'ओभरिस सिटिजन' (विदेशमा रहेका भारतीय)लाई दिइएको 'ओसिआई' परिचयपत्र बहाकलाई भारतमा दिँदै आएको निर्वाध यात्राको सुविधा (भिसा फ्रि ट्राभल)लाई पनि अप्रिल १५ सम्मका लागि हटाएको छ।
अत्यावश्यक कामका लागि भारत जान चाहने विदेशीको हकमा भने आफ्नो देशमा रहेको भारतीय कुटनीतिक नियोगमा सम्पर्क गर्न भारत सरकारले भनेको छ। त्यस्तै चीन, इटाली, इरान, फ्रान्स, स्पेन, दक्षिण कोरिया र जर्मनीमा फेब्रुअरी १५ पछि भ्रमण गरेका भारतीयसहित सबै विदेशीलाई न्यूनतम क्वारेन्टाइनमा राख्ने भएको छ।
त्यस्तै, भारत आउन चाहने भारतीय सहितका विदेशीलाई उसले आवश्यक नभए नआउन भनेको छ। र, उनीहरुलाई न्यूनतम १४ दिन क्वारेन्टाइनमा राख्नसक्ने जनाएको छ।
त्यस्तै भारतले आफ्ना नागरिकलाई सकभर विदेश भ्रमण नगर्न समेन अनुरोध गरेको छ। यदि, उनीहरु यसरी भ्रमण गरे उनीहरुलाई भारत फर्किने बेला न्यूनतम १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने छ।
त्यस्तै, स्थल मार्गबाट भारत प्रवेशमा पनि कडाइ गरिने भारतीय विदेश मन्त्रालयले जनाएको छ। यसका लागि त्यहाँको गृह मन्त्रालयले सहजिकरण गर्ने बताइएको छ। स्थल मार्गबाट भारत प्रवेश गर्नेहरुका लागि निर्धारित जाँच चौकीबाट स्क्रिनिङ गरेपछि मात्र प्रवेश दिइने छ। त्यसका लागि भारत सरकारले सीमा चौकीहरुमा स्वास्थ्य परीक्षण सहितको जाँच चौकी स्थापना गर्ने बताएको छ।
त्यस्तै, भारतले इटालीमा रहेका भारतीय विद्यार्थीहरुलाई एकीकृत रुपमा नमूना परीक्षण गर्ने र संक्रमित नभएकालाई मात्र भारत फिर्ता गर्न दिने र भारतमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने जनाएको छ।
भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले भारतीय अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण रुपमा सतर्कता र तयारी अपनाइएको बताएका छन्। हालसम्म ९ हजार ८ सय ६२ वटा उडानमा यात्रा गरेका १० लाख ५७ हजार ५ सय ६ यात्रुको स्वास्थ्य स्क्रिनिङ गरिएको जनाएका छन्।
भारतमा आजसम्म ७३ जनामा संक्रमण देखिएको छ। जसमध्ये ५६ जना भारतीय नागरिक र १७ जना विदेशी नागरिक भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढी केरलामा छन्।
त्यस्तै, महाराष्ट्र ११ र उत्तर प्रदेशमा १० जना संक्रमित भएका छन्। उत्तर प्रदेश नेपालको सीमावर्ती भारतीय राज्य हो। उत्तर प्रदेश नेपालसँग जोडिएकामध्ये ठूलो भूगोल भएको प्रान्त हो।

नेपालमा कस्तो पर्ला यसको असर?

भारतको पछिल्लो निर्णयले नेपाल पनि प्रभावति हुनेछ। तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरु अब कम्तिमा शुक्रवार देखि अप्रिल १५ सम्म आउन पाउने छैनन्।
स्थलमार्गबाट भारतीय भूमि प्रयोग गरेर नेपालमा पर्यटक प्रवेश गर्नेको संख्या उल्लेख्य छ। भारतले स्थलमार्गलाई पनि कडाइ गर्ने जनाएपछि भारतबाट नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकहरुसमेत प्रवेश गर्न पाउने छैनन्। त्यस्तै, भारतले आफ्ना नागरिकहरुलाई पनि विदेश भ्रमण नगर्न भनेसँगै यसको प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्ने छ।
यता, हवाइ मार्ग पनि भारतको यस निर्णयबाट प्रभावति हुने देखिन्छ। भारत सरकारले भारत प्रवेश गर्नु अगाडि भारतीय दूतावासबाट क्लियरेन्स माग गरेपछि हवाइ मार्गबाट भारत प्रवेश गर्न चाहनेहरुले भारतीय दूतावासबाट पहिले नै अनुमति लिनुपर्ने छ। उसले अत्यावश्यक बाहेक भारत प्रवेशमा रोक लगाउने जनाइसकेको छ।
यद्यपि, भारत सरकारको निर्णयलाई नेपाली नागरिकको हकमा के हुने र नेपाल भ्रमण गर्नेको हकमा के हुने भन्ने स्पष्ट भनिएको छैन। भारतले भिसा रद्ध गर्ने जनाएको छ। तर, नेपालीहरु नेपाली र भारतीयले विना भिसा निर्वाध आउजाउ गर्न पाउँछन्।
यता, भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरु पनि यसको प्रत्यक्ष मारमा पर्नेछन्। त्यस्तै भारत हुँदै तेस्रो मुलुकबाट नेपाल आउनेहरु पनि यसको मारमा पर्ने निश्चित छ।
भारतबाट नेपालमा एयर इन्डिया, इन्डिगो एयरले नेपालमा नियमित उडान गर्दै आएका छन्। त्यस्तै नेपाल एयरलाइन्स र बुद्ध एयरले पनि भारतमा उडान भर्दै आएका छन्।
त्यस्तै, भारत ट्रान्सिट भएर नेपालमा भुटानबाट दुई विमानले उडान गर्दै आएका छन्। यी उडान अहिले रोकिएका छन्। त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार हाल त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा उल्लेख्य कमी आएको छ। उनका अनुसार दैनिक ५६ वटा अन्तर्राष्ट्रिय उडान भइरहेकोमा हाल ३५ मा झरेको उनले जानकारी दिए।

युपीमा कोरोना नेपाल जोखिममा

भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा १० जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। यससँगै नेपालमा पनि जोखिम बढ्दै गएको छ।
नेपाल-भारतबीच ६ वटा प्रमुख भन्सार नाका छन्। जसमध्ये दुईवटा उत्तर प्रदेशमा छन्। रुपन्देहीको वेलहिया-सुनौली नाका र नेपालगञ्ज रुपैडिहा नाका। त्यस्तै युपीसँग जोडिएका थप पाँच वटा साना भन्सार नाका रहेका छ। कृष्णनगर, कोइलावास, लक्षमणपुर, गुलरिया र धनगढी नाका। यी नाकाबाट सहज रुपमा नेपाल भारत आवतजावत हुँदै आएको छ।
त्यस्तै युपीसँग सीमा जोडिएका बाहेक नेपाल भारतबीच काकरभिट्टा, विराटनगर वीरगंज र भीममदत्त नगरमा ठूला भन्सार नाका छन्। त्यस्तै पशुपतिनगर, गौरीगञ्ज, रंगोली, भान्टावारी, जनकपुर, जलेश्वर, मलंगहवा, गौर, ठोरीमा पनि छोटी भन्सार नाका रहेका छन्। यहाँबाट पनि नेपालमा सहज रुपमा विदेशीहरु नेपाल प्रवेश गर्न पाउँछन्।

छोटी भन्सार नाकाबाट बन्द हुन सक्ने

भारतको पछिल्लो निर्णयले स्थलमार्गका सीमा नाकाबाट भारत प्रवेशमा स्वास्थ्य परीक्षण गरिने बताइएको छ। उसले प्रमुख नाकामा स्वास्थ्य डेस्कसहितको स्क्रिनिङ सुविधा राखिने जनाएको छ।
यस्तो अवस्थामा नेपालबाट भारत प्रवेश गर्ने प्रमुख नाकाहरुमा स्वास्थ्य परीक्षणको सुविधा थपिए पनि छोटी भन्सार नाकाहरुमा यो सुविधा उपलब्ध नहुने बताइएको छ।
'स्थल मार्गबाट भारत प्रवेश गर्नेहरुका लागि निर्धारित जाँच चौकीबाट स्क्रिनिङ गरेपछि मात्र प्रवेश दिइने छ। त्यसका लागि सरकारले सीमा चौकीहरुमा स्वास्थ्य परीक्षण सहितको जाँच चौकी स्थापना गरिने छ,' भारतीय स्वास्थ्य मन्त्रालयले भनेको छ।
त्यसका लागि आवश्यक तयारी र व्यवस्था भारतको गृह मन्त्रालयले गर्ने बताइएको छ। यस्तो अवस्थामा स्वास्थ्य परीक्षण सुविधा नहुने नाकाबाट भारत प्रवेश गर्न पाइने छैन। यसको मतलव साना नाकाहरु बन्द हुनेछन्।
यस विषयमा भारतको गृह मन्त्रालयले निर्णय गरिसकेको छैन। यसरी साना नाका बन्द भए नेपालीहरुमा प्रत्यक्ष प्रभाव पर्ने छ। भारतमा रोजगारीका लागि गएका नेपालीहरु नेपाल फर्किन तथा नेपालबाट रोजगारीका लागि भारत जानेहरु पनि प्रभावित हुनेछन्।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा