खेत बगेपछि भोकमरीको चिन्ता
बझाङ — खप्तडछान्ना–१, खाती गाउँका सुरेन्द्र खातीको बाह्रमासे कुलो लाग्ने ४० नाली (१० रोपनी) खेत थियो । वर्षमा ३० बोराभन्दा बढी धान फल्थ्यो । त्यही अनुपातमा गहुँ उत्पादन हुन्थ्यो । ११ जनाको परिवारलाई वर्षभरि खान समस्या थिएन । कात्तिक २ गतेको बाढीले उनको सबै खेत बगाएर ३ नाली मात्रै बचेको छ ।
बाढीले सिँचाइ कुलोसमेत बगाएपछि अब बचेको खेत पनि बाँझै भएर परिवार भोकै हुने चिन्ताले सुरेन्द्रको परिवारलाई सताउन थालेको छ । बलौटे माटो भएको बेंसी क्षेत्रका खेतमा गहुँ छर्न खनजोत गर्नुभन्दा पहिला सिँचाइ गर्नुपर्ने र गहुँ छरिसकेपछि पनि पटकपटक पानी दिनुपर्ने हुन्छ । सिँचाइ नै नभएपछि गहुँ नउम्रिने भएकाले धेरैजसोले खेत बाँझै छाडेका छन् । ‘कुलो छैन, बीउ किन खेर फाल्ने भनेर धेरैले खेत बाँझै छोडे,’ उनले भने । खातीगाउँका ६० परिवारको मात्रै करिब २ सय ५० रोपनी खेत जडारीगाड खोलामा आएको बाढीले बगाएको छ । बाढीबाट बचेको १ सय ५० रोपनी खेत पनि सिँचाइ अभावमा बाँझै हुने अवस्था रहेको छ ।
खप्तडछान्नामा सातवटा वडा, पालिका, संघ, प्रदेश सरकार, कृषि ज्ञान केन्द्र, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय र विभिन्न संघसंस्थाले बनाएका १ सय २९ वटा सिँचाइ कुलो, नहर र सिँचाइ पोखरी बाढी र पहिरोले क्षति पुर्याएको छ । १ सय हेक्टरभन्दा बढी जग्गा बगेको र १ हजार २ सय हेक्टरभन्दा बढी जग्गा सिँचाइ सुविधाविहीन भएको गाउँपालिका अध्यक्ष बर्क रोकायाले बताए । ‘वडा ६ र ७ मा मात्रै १/२ वटा सिँचाइ कुलो बचेका छन्, बाँकी ५ वडामा त सिँचाइका एउटा पनि संरचना बाँकी रहेनन्,’ उनले भने, ‘कतिपयले उम्रे उम्रिएला नउम्रे ठीकै छ भन्ने हिसाबले गहुँ छरेका छन् ।’ अधिकांश सिँचाइ कुलोको स्रोतका रूपमा रहेको जडारीगाड साबिकभन्दा १०/१५ मिटर तल भासिएकाले तत्काल पुनर्निर्माण सम्भव नभएको उनको भनाइ छ ।
जिल्ला कृषि ज्ञान केन्द्र बझाङका अनुसार शुक्रबारसम्म जिल्लामा ९० प्रतिशत खेतमा गहुँ छर्ने काम सकिएको छ । तर सदरमुकाम चैनपुरनजिकै पर्ने जयपृथ्वी नगरपालिका–१, रुइनाबगर र भोपुर गाउँको पूरै जिउलो (बेंसीफाँट) मा पहिलो जोताई पनि भएको छैन । तल्कोट गाउँपालिका र जयपृथ्वी नगरपालिकाबीच भएर बग्ने सुनीगाड खोलाबाट बनाएको सिँचाइ कुलोको बाँध नै खोलाले बगाएपछि यी गाउँमा गहुँ छर्ने काम हुन सकेको छैन । १ सय ५० परिवारको करिब आठ सय रोपनीभन्दा बढी खेत बाँझै हुने अवस्था आएको छ ।
‘यही महिनामा गहुँ छरिसक्नुपर्ने थियो । सिँचाइ नभएका कारण खनजोत पनि गर्न सकिएन,’ स्थानीय बिना केसीले भनिन्, ‘जिउलो बाँझै भएपछि के खाएर बाँच्ने हो ? गाउँ नै भोकमरीमा पर्ने भयो ।’ जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बेमौसमी बाढी र पहिरोपछि जिल्लाको कुल ७ हजार सिञ्चित क्षेत्रमध्ये आधाभन्दा बढी सिँचाइ संरचना क्षतिग्रस्त भएको अनुमान गरे । ‘यसले जिल्लाको खाद्य सुरक्षामा नै संकट उत्पन्न हुने देखिएको छ,’ उनले भने, ‘जिल्लाभर रहेका ४ सय ५० भन्दा बढी सिँचाइ आयोजनामध्ये आधाभन्दा बढी कामै नलाग्ने गरी बिग्रिएका छन् । ४ हजार हेक्टरभन्दा बढी जमिन सिँचाइ सुविधाबाट विमुख भए ।’
कृषि ज्ञान केन्द्रले सिँचाइमा भएको क्षतिको विवरण नराखेको भए पनि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बझाङले आफ्नो कार्यालयमार्फत निर्माण गरेका योजनाको मात्र तथ्यांक संकलन गरेको छ । कार्यालयका सबइन्जिनियर दीपक सार्कीका अनुसार १६ वटा ठूला तथा मझौला सिँचाइ आयोजना र २ वटा लिफ्ट प्रविधिमा आधारित सिँचाइ आयोजना क्षतिग्रस्त भएका छन् । आयोजनाले सिँचाइ सुविधा दिइरहेको ७ सय हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ अभाव हुने उनको भनाइ छ ।
सिँचाइ नभएपछि बेंसी क्षेत्रका अधिकांश फाँटमा गहुँ छरिएको छैन । हिउँदेबाली छरिसकेका किसान पनि बीउ नउम्रिने हो कि भन्ने चिन्तामा छन् । ‘जग्गा बाँझै छोड्न मन नलागेर बीउ त छरिहाल्यौं,’ खप्तडछान्नाकी बेलादेवी खातीले भनिन्, ‘बीउ उम्रिने हो कि होइन, रुडा (खडेरी) पर्यो भने उम्रेर पनि के काम ?’