दुर्गममा अझै रोग लुकाउँछन् महिला
अछाम २ फागुन/ अछामका ग्रामीण भेगका महिलाले आधारभूत स्वास्थ्य सेवा पाउन लिन स्वास्थ्य शिविरको भर पर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन । सामान्यदेखि जटिल समस्याको समयमा पहिचान नहुँदा धेरैले पीडामा बस्नु परेको छ । गाउँगाउँमा स्वास्थ्य चौकी भए पनि सेवा लिन जानेको संख्या भने निकै कम देखिन्छ ।
अछामको ढकारी गाउपालिका ४ की ३२ वर्षीया बिन्द्रा (नाम परिवर्तन) लाई पछिल्लो सात वर्षदेखि तल्लो पेट दुख्ने, पिठ्युँ खसेजस्तै हुने, योनीबाट गन्ध आउने, पहेंलो पानी बग्ने, पिसाब फेर्न मुस्किल हुने स्वास्थ्य समस्या छ । तर उनी भने घरपरिवारले सोधपुछ गर्दा जहिल्यै टाउको दुखेको भन्दै रोग लुकाउदै झूटो बोल्छिन् ।
दुई वर्षअघि तुर्माखाँदमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उनले जाँच गराइन् । नेपालगन्ज वा काठमाडौं गएर थप उपचार गर्न स्वास्थ्यकर्मीले सुझाव दिए । ‘माइत जाने बहाना पारेर २ वर्षअघि शिविरमा गएकी थिएँ । त्योबाहेक अन्य उपचार गर्न सकिएन,’ शुक्रबार जिल्ला अस्पतालमा भेटिएकी उनले भनिन्, ‘गाउँमा शिविर आए उपचार गर्न पाउँछौं, नत्र रोग लुकाएरै बस्नुपर्छ ।’
यौनसम्बन्धी समस्या अरुलाई सुनाउन लाज मान्दा उनी जस्ता धेरै ग्रामीण महिला रोग लुकाएरै बसेका छन् । सामान्यतया महिलाको विवाह गर्ने उमेर २० वर्षलाई मानिन्छ । शारीरिक रूपमा सक्षम हुने भएकाले यो उमेरका महिला सन्तान जन्माउन परिपक्व हुन्छन् । तर अछामका ग्रामीण भेगका महिलाले २० वर्षमा ३/४ सन्तान जन्माइसकेका हुन्छन् । २५ देखि ३० वर्षमा उनीहरूमा केही न केही यौन रोगसम्बन्धी समस्या देखा पर्ने स्वास्थ्यकर्मी बताउँछन् । अछाम सदरमुकामको मंगलसेन नगरपालिका–१३ की सीता साउदलाई २६ वर्षमै पाठेघर फाल्नुपर्ने भएको छ । चार वर्षअघि मंगलसेनमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उनलाई आङ खस्न सक्ने र चाँडै उपचार गराउन सुझाइएको थियो । ‘त्यतिबेला पाठेघरमा समस्या छ, थप उपचार गर्नुपर्छ भनिएको थियो,’ सीताले भनिन्, ‘त्यसपछि शिविर चलेको थाहा पाइन । उपचार गर्न पनि सकिएन ।’
त्यसपछि दुई सन्तान जन्माएकी उनी हिँडडुल गर्नै नसक्ने भइन् । रोगले च्यापेपछि दुई वर्षअघि जिल्ला अस्पतालका चिकित्सकले उनलाई शल्यक्रिया गर्न सुझाए । श्रीमान् परदेशबाट फर्किएपछि मात्रै शल्यक्रिया गर्ने भन्दै घर फर्किएकी उनको अहिलेसम्म उपचार भएको छैन । ‘पहिलो शिविर आउँदा श्रीमान् घरमा थिएनन् । अहिले श्रीमान् घर आए तर शिविर आएन,’ उनले भनिन् ।
कोरोना भाइरसको संक्रमणभन्दा अगाडि जिल्लाका विभिन्न दुर्गम क्षेत्रमा सञ्चालन गराइएका स्वास्थ्य शिविरमा महिलाका समस्या धेरै देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए । ‘ग्रामीण भेगमा सञ्चालन भएका स्वास्थ्य शिविरमा सबैभन्दा बढी तल्लो पेट दुख्ने, पिसाबमा संक्रमण भएका महिलाहरू धेरै आएका थिए । पहिलेभन्दा अहिले पाठेघर खसेका महिलाहरूको समस्या कम देखिएको छ,’ उनले भने, ‘महिला डाक्टर र स्वास्थ्यकर्मी हुँदा आफ्नो समस्याबारे खुलेर भन्छन् । महिलाको स्वास्थ्य जाँच गर्न गाउँमा शिविर सञ्चालन गर्न महिला स्वास्थ्यकर्मी लैजाने गरेका छौं ।’
वर्षमा एक दुई पटक मात्रै दुर्गम क्षेत्रमा शिविर गर्नुपर्ने भएकाले जिल्लाका सबै भेगमा शिविरबाट स्वास्थ्य सेवा दिन नसकेको ढुंगानाले बताए । उनका अनुसार गत वर्ष जिल्लाको ढकारी, सोकट र धमालीमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो । ‘३० वर्षमाथिका महिलाको सरभाइरल क्यान्सरको जाँच जिल्लाका १० वटै स्थानीय तहमा गर्ने योजना बनाएका छौं । त्योबाहेक दुर्गम क्षेत्रमा पनि चाँडै शिविर सञ्चालन गर्छौं,’ उनले भने । कतिपय गाउँमा देवीदेउता रिसाएका कारण पाठेघर खसेको भन्ने गलत मान्यता अझै व्याप्त छ । सामान्यतया धेरै बच्चा जन्माउँदा, कम उमेरमै गर्भवती हुँदा, जन्मान्तर कम राख्दा र गर्भवती अवस्थामा पोसिलो खानेकुरा र आराम नगर्दा महिलामा आङ खस्ने र यौनसम्बन्धी रोग अत्यधिक देखिने गरेको छ ।